Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका र सहकारी संघ संस्थाका प्रतिनिधिहरुवीच आज अन्तरक्रियात्मक छलफल भएको छ । मुख्यतः पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरुलाई नगरमा नविकरण शुल्क बुझाउन गरेको पत्राचारको विषयमा छलफल भएको हो ।

पथरी शनिश्चरे नगरपालिकाले मिति २०७७ असार १५ गते नगरभरिका सहकारी संस्थाहरुलाई नगरमा नविकरण शुल्क र बार्षिक कर रकम असार मसान्तभित्रमा बुझाउनको लागि पत्राचार गरेको थियो । जस अनुशार प्रमुख उद्देश्य बचत तथा ऋण भएका सहकारी संस्थाहरुमध्ये १ करोडसम्म वासलात भएका सहकारीले ५ हजार, ३ करोडसम्म वासलात भएका सहकारीले १० हजार, ५ करोडसम्म वालात भएका सहकारी संस्थाहरुले १५ हजार, ५ भन्दा माथिका सहकारी संस्थाहरुले २० हजार नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ । त्यसैगरी बहुउद्देश्यीय, कृषि र अन्य सबै प्रकारको उद्देश्य भएका सहकारी संस्थाहरुले ५ हजार नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ ।

सहकारी सम्बन्धि संघीय ऐन र नियमावली तथा प्रदेश ऐन र नियमावलीमा सहकारी संस्था नविकरण र शुल्क सम्बन्धि कुनै व्यवस्था नभएको हुनाले सहकारी संस्थाहरुलाई स्थानीय सरकारले नविकरण शुल्क लगाउनु साथै वासलातको आधारमा नविकरण शुल्क तोक्नु नियमसंगत नहुने सहकारी अभियन्ताहरुको सामूहिक धारणा थियो । त्यसैगरी नयाँ संस्था दर्ता गर्दा लाग्ने शुल्क पनि बढी भएको निष्कर्ष थियो । पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुले शुद्ध बचत (नाफा)को ५ प्रतिशत संघीय सरकारलाई आयकर बुझाउँदै आएका छन् ।

सहकारी संस्थाहरुलाई लगाइएको दर्ता र नविकरण शुल्क सम्बन्धि व्यवस्था सहकारी ऐनमा नभए पनि नगरपालिकाको आर्थिक ऐनमा व्यवस्था भए अनुशार संस्थाहरुलाई पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले जानकारी दिनु भयो । दर्ता र नविकरण शुल्कदर गत नगरसभाबाट पारित भईसकेको हुनाले हाललाई उक्त व्यवस्था निष्कृय राख्ने, यथासक्य चाँडो प्रतिनिधिमूलक रुपमा सहकारीका प्रतिनिधिहरुलाई आमन्त्रण गरी वृहत छलफलबाट शुल्कहरु निर्धारण गर्ने र नगरको आउँदो हिउँदे अधिवेशनबाट संसोधनसहित पास गरी कार्यान्वयनमा ल्याउन नगरले कार्य गर्ने भएको हुनाले आस्वस्त हुन नगरप्रमुख दिलिपकुमार राईले अनुरोध गर्नु भयो नगरपालिकाका सञ्चालित सहकारी संस्थाको प्रवद्र्धन र विकासका लागि आवश्यक नीति र योजना तर्जुमा गर्दा सहकारी अभियन्ताहरुसँगको छलफल र परामर्शबाट गर्न उपयुक्त हुने निष्कर्षमा पनि आफु पुगेको र आगामी दिनहरुमा त्यसै गर्ने धारणा पनि नगरप्रमखले व्यक्त गर्नु भयो ।

छलफलमा सहकारी अभियानको तर्फबाट जिल्ला सहकारी संघ लि., मोरङका सञ्चालकद्वय युवराज भट्टराई र योगराज पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङ अध्यक्ष सोमनाथ निरौला, उपाध्यक्ष बिना राई, सचिव एकराज निरौला, सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे ईलाका समितिका अध्यक्ष गणेशकुमार राई, उपाध्यक्ष मोहनुकार श्रेष्ठ, सञ्चालक आईतकुमारी तुम्बापो लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने नगरपालिकाको तर्फबाट नगरप्रमखु दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सहकारी शाखा प्रमुख केशवदेवी धमला लगायतको सहभागिता रहेको थियो ।

कोभिड–१९ को कारण उत्पन्न विपदको घडीमा पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा नगरका सहकारी संस्थाहरु र सहकारी कर्मचारी संगठनले ३ लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया