Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । पथरी शनिश्चरेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना १५ जना ज्येष्ठ सेयर सदस्यहरूलाई ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वापत ५७ हजार ७५० वितरण गरेको छ । विगतमा ज्येष्ठ सदस्यहरूलाई संस्थामा नै बोलाएर पेन्सन दिने गरिएको भएता पनि कोभिड–१९ को कारण सिर्जना भएको असहज अवस्थालाई ध्यानमा राखी असार २७ गतेका दिन सदस्यहरूको घरघरमा नै गएर पेन्सन उपलब्ध गराईएको संस्थाले जनाएको छ ।

२०७६ माघ, फागुन र चैत्र महिनाको मासिक ६ सयका दरले र २०७७ बैशाख, जेठ र असार महिनाको मासिक ७ सय ५० का दरले ६ महिनाको पेन्सन वितरण गरिएको संस्थाका कोषाध्यक्ष दोर्णबहादुर खड्काले जानकारी दिनु भयो । कोषाध्यक्ष खड्काले दिनुभएको जानकारी अनुशार स.नं. ११ का डम्बरबहादुर खाम्तेल राई, स.नं. ३० का यमबहादुर गुरुङ, स.नं. ३७ की कृष्णमाया राई, स.नं. ५१ का कृष्णमाया राई, स.नं. ६८ का विष्णुकुमार श्रेष्ठ, स.नं. ९९ का यज्ञप्रसाद ढुंगेल, स.नं. १५२ का अम्बरबहादुर राई, स.नं. १५८ का छत्रराम अधिकारी र स.नं. २०२ का प्रेमबहादुर कार्कीले पेन्सन पाउनु भएको हो । त्यसैगरी स.नं. २१७ का पदमबहादुर तामाङ, स.नं. ३२८ का टेकबहादुर लिम्बू, स.नं. ३५० का वीरबहादुर तामाङ, स.नं. ३६२ की रत्नकुमारी भट्टराई, स.नं. ४५० का जहरमान मेयाङ्बो र स.नं. ११५१ का अम्बरबहादुर राईले पनि पेन्सन पाउनु भएको हो ।

 

पेन्सनसँगै संस्थाले ज्येष्ठ सेयर सदस्यहरूलाई उनीहरूको अनिवार्य मासिक बचतमा भएको रकममध्येबाट मासिक १ प्रतिशतका दरले ६ महिनाको ६ प्रतिशत बचत पनि फिर्ता गरेको छ । १५ जनालाई जनही ६ प्रतिशतका दरले वितरण गर्दा जम्मा ३० हजार ५ सय १० रुपैयाँ भुक्तानी गरेको हो । उमेर हुँदा आर्जन गरेको आम्दानीबाट थोरै रकम छुट्टाएर नियमित रुपमा गरेको अनिवार्य मासिक बचत रकम जीवनको उत्तरार्धमा सदस्य आफैले प्रयोग गर्न पाए बचतको सार्थकता हुने निष्कर्षसहित उक्त रकम क्रमशः फिर्ता गर्ने नीति संस्थाले लिएको र उक्त रकमसँगै संस्थाले आजीवन पेन्सन पनि दिन थालेको अध्यक्ष धनराज राईले बताउनु भयो । संस्थाले बचत फिर्ता र पेन्सन सुविधा दिएपछि ज्येष्ठ सेयर सदस्यहरु खुशी भएर संस्थालाई धन्यवाद दिने गरेको पनि बताउनु भयो ।

लर्ड बुद्ध साकोसले २०७४ बैशाख १ गतेदेखि आफ्ना ७० बर्षदेखि माथिका सेयर सदस्यहरुलाई आजीवन भत्ता (पेन्सन) उपलब्ध गराउन थालेको हो । २०७४ सालभर मासिक २ सय, २०७५ सालभर मासिक ४ सय र २०७६ सालभर मासिक ६ सय पेन्सन वितरण गरेको संस्थाले अब २०७७ सालभर मासिक ७ सय ५० का दरले भत्ता उपलब्ध गराउने संस्थाका सचिव महेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

संस्थाले ज्येष्ठ सदस्यहरुको जन्मदिनको अवसरमा केक काटेर जन्मदिन मनाईदिने, मासिक बचतमा थप १ प्रतिशत बढी व्याज दिने, तिर्थाटन भ्रमण गराउने समेत गर्दै आएको छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया