जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग दिएको छ ।

मंगलवार आफ्नै कार्यालयमा ‘एकका लागि एक’ अभियानको टोलीलाई निम्त्याएर शिखरले ५१ हजार सहयोग दिएको हो । संस्थाका अध्यक्ष दीपेन्द्र राउतले ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नागरिकस्तरवाट स्थापना हुन लागेको प्रयोगशालाका लागि उक्त रकम प्रदान गरिएको अध्यक्ष राउतले बताए । ‘यो अभियानमा जोडिन पाउँदा हामी खुशी छौँ’, अध्यक्ष राउतले भने ।
कार्यक्रममा ‘एकका लागि एक’ अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले शिखरका तर्फबाट भएकोे सहयोगको प्रशंसा गरेका छन् ।

शिखरले यसअघि विपन्न नागरिकको राहतका लागि बिर्तामोड नगरपालिकालाई एक लाख ६१ हजार, अर्जुनधारालाई ५१ हजार र बाह्रदशीलाई ८८ हजार रुपैयाँ सहयोग गरेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दीपेन्द्र राउत, उपाध्यक्ष ऐश्वर्या पाण्डे, सचिव हिमालय प्रसाईं, सहसचिव तारा खतिवडा, कोषाध्यक्ष विजय चापागाईं, सदस्यहरु मदन विश्वकर्मा, किरण थापा, विज्ञान खड्का, लेखा संयोजक अर्जुन चापागाईंलगायतको उपस्थिति रहेको थियो ।
अभियानका सह संयोजक बस्नेतले प्रयोगशालाका लागि हालसम्म ९० लाख रुपैयाँ भन्दाबढी रकम जुटेको बताउँदै शिखर सहकारीलाई धन्यवाद दिए । एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने सह संयोजक वस्नेतले बताए ।
सहारा नेपालसहित विभिन्न २८ वटा संस्थाको सहभागितामा सुरु गरिएको अभियानमार्फत झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ ।
(विवेचना डटकमको सहयोगमा)
