Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश नं. १ मा कृषि सम्बन्धि उत्पादन तथा बजारीकरण गर्ने मुख्य उद्देश्य लिई विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ लि. दर्ता भएको छ । मोरङको कटहरी गाउँपालिकामा कार्यालय रहने गरी मिति २०७७ असार ९ गतेबाट संघले कानुनी मान्यता पाएको हो ।

प्रदेशका मोरङ, सुनसरी, झापा, धनकुटा र ईलाम जिल्लाबाट ३२ वटा सहकारी संस्थाहरूको कुल १ करोड १६ लाख सेयर पुँजी लगानीमा विशिष्टीकृत संघ दर्ता भएको जिल्ला सहकारी संघ, मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताउनु भयो । विशिष्टीकृत सहकारी संघ गठन गर्न कम्तीमा २५ वटा बहुउद्देश्यीय वा विषयगत संस्थाहरू हुनु पर्ने, संयुक्त सेयर पुँजी कम्तीमा १५ करोड र खरिद गरेको सेयर पँुजी कम्तीमा १ करोड हुनु पर्ने कानुनी प्रावधान छ ।

प्रारम्भिक चरणमा मानिसलाई दैनिक आवश्यकीय तरकारी तथा फलफुल लगायतका कृषीजन्य उत्पादनहरूको थोक बजारीकरण गरी कृषक र उपभोक्तावीचको दुरी कम गर्दै परिपुर्तीलाई सहज बनाउने र भविष्यमा कृषि उत्पादनसँग सम्बन्धित संस्थाहरूलाई समेत समेटी सबै खालका कृषिजन्य उत्पादन तथा वितरणको सहज व्यवस्था मिलाउने संघको योजना रहेको तदर्थ लेखा समितिका संयोजक लक्ष्मी सापकोटाले जानकारी दिनु भयो ।

संघीय सरकारले १८ करोडको लागतमा निर्माण गरी १ नं. प्रदेश सरकारलाई हस्तान्तरण गरेको कटहरी खुद्रा तथा थोक तरकारी एवम् फलफुल बजार भवन प्रयोगविहिन अवस्थामा रहेको बेला मोरङ जिल्ला सहकारी संघले प्रदेश सरकारसँगको समन्वयमा लक डाउन अगावैदेखि तरकारी तथा फलफुलको बजारीकरण गर्न प्रारम्भ गरेको र सोही उद्देश्यसँग सम्बन्धित संघ दर्ता समेत भइसकेको हुनाले प्रदेश सरकारसँग उक्त व्यापारिक भवन लिजमा लिई भव्य र व्यवस्थित रूपमा सञ्चालनको लागि नवगठित संघले पहल गर्ने पनि जिल्ला सहकारी संघ लि., मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिनु भयो ।


कोभिड–१९ को कारण असहज परिस्थितीकैवीच पनि संघ दर्ता गरिएको र संघको सेयर खरिदका लागि १ नं. प्रदेशभरीका सम्पूर्ण सहकारी संस्थाहरूलाई आव्हान गर्ने योजना रहेको अध्यक्ष देवेन्द्र पौडेलले बताउनु भयो ।


विशिष्टीकृत संघ दर्ताका लागि राष्ट्रिय सहकारी महासंघ लि., नेपालका उपाध्यक्ष रमेशप्रसाद पोखरेल र झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष गणेश ढकालको महत्वपूर्ण भुमिका रहेको थियो ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया