नेपाल सरकारको आब २०७७/७८ को बजेट वक्तव्यमा सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन नीतिगत व्यवस्था गरी सहकारी मार्फत उत्पादनका साधनहरुको सामूहिकीकरण, स्थानीय श्रोतको परिचालन र आर्थिक, सामाजिक रुपान्तरणबाट सामाजिक न्याय सहितको द्रुत विकास गर्ने योजनाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले प्रशंसा गरेको छ।

सहकारी संस्थाको शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने, सहकारी संस्थाहरु एकअर्कामा गाभिन र नगद रहित कारोबार गर्न प्रेरित गर्ने साथै सहकारी ऐनले व्यवस्था गरेको सहकारी कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोषको सञ्चालनलाई समेत बजेटले समेटेको हुँदा सहकारी क्षेत्रको दीगो सञ्चालन, सुरक्षा र संस्थागत विकासमा राज्यको ध्यानाकर्षण भएको अनुभूति भएको नेफ्स्कूनले जनाएको छ।


नेफ्स्कूनले एक विज्ञप्ती निकाल्दै सहकारी संघ संस्थाहरुलाई घरेलु तथा साना उद्योगको प्रवर्द्धन, कृषि उत्पादन, भण्डारण तथा प्रशोधन एवम् गरिबी निवारणमा प्रोत्साहित गर्ने र कृषि सामाग्री, पूजि, प्रविधिका साथै बजारमा कृषकको सहज पहुँचको सुनिश्चित गरेको प्रती समेत आभार प्रकट गरेको छ।
नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एकमात्र शिर्ष संघ भएका कारण नेपालमा दर्ता भएका १३ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरुको पक्षमा नीतिगत पहलकदमी लिंदै आउँदा बजेट मार्फत प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्ने र विशेष गरी वित्तीय कारोबार गर्ने संस्थाहरु यस संघका सदस्यहरु रहने हुनाले आर्थिक कारोबारको नियमित अनुगमन र सुशासनको परीक्षण गर्नुपर्नेमा नेफ्स्कूनले जोड दिएको छ।
साथै आर्थिक कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई वित्तीय संस्थाको रुपमा परिभाषित गराउनुपर्ने र वित्तीय सहकारी सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादनमा नेफ्स्कूनलाई नेपाल सरकारले लक्ष्य र मापदण्ड तोकी जनशक्ति विकासको लागि श्रोतकेन्द्रको रुपमा स्थापित गर्न बजेट विनियोजन गरी नेपालको समग्र सहकारी व्यवस्थापनमा अहम भूमिका खेल्ने विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ
